बन्दीपुर केबलकार एण्ड टुरिजमले बन्दीपुरमा बिश्वकै लामो जीपलाइन निर्माण गरिने भएको छ । बन्दीपुर–४ बरालथोकदेखि भानु–१ नयाँबस्तीसम्म दुई हजार ८ सय मिटर दूरीमा जीपलाइन निर्माण गर्न लागेको हो ।जीपलाइन निर्माणका लागि डिपिआर सम्पन्न गरी वातावरणीय प्रभाव मुल्याङकन कार्य भैरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वातावरणीय प्रभाव मुल्याङकन कार्य पछि निर्माण कार्यले गति लिनेछ । त्यसैगरी,बन्दिपुर–४ को केबलकारचोक नजिक निर्माणधीन एक सय ४० मिटर दूरीको जीपलाइन निर्माण कार्य भने अन्तिम चरणमा पुगेको छ ।
करिब १५÷२० दिनभित्र संचालनमा ल्याउने तयारी भैरहेको छ,उहाँले भन्नुभयो “बन्दीपुरलाई जीपलाइन र साइक्लिङिग क्षेत्रको हब बनाउने लक्ष्य राखिएको छ ।” त्यसैगरी सोही वडाको केबलकार प्राङगणमा ८५ मिटर दूरीको स्काइ साइक्लिङिग निर्माण कार्य सम्पन्न भैसकेको छ । निर्माणधीन जीपलाइन र साइक्लिङिग एकैसाथ संचालनमा ल्याइने योजना रहेको अध्यक्ष शर्माले बताउनुभयो ।
टुरिजमले बन्दीपुर गाउँपालिका–४ केबलकार चोक स्थित तल्लो स्टेशनमा ५६ रोपनी क्षेत्रफलमा फैलिएको टुरिष्ट पाकर्,अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुरेण्ट,सत्रतलाको पाँचतारे होटल “क्वीन टावर” र केबलकार लगायतका संरचना निर्माण गरि संचालनमा ल्याइसकेको छ । तल्लो स्टेशनदेखि माथिल्लो स्टेशनसम्म एक हजार ७ सय मिटर दुरीमा केबलकारका माध्यमबाट पाँचतारे होटलभित्र पुगेर केबलकार यात्रा टुंङिग्नेछ । समुन्द्री सतहदेखि करिब एक हजार एक सय मिटर उचाईमा उक्त होटल निर्माण गरिएको छ । टुरिजमले सबै संरचना निर्माण गरी संचालनमा ल्याइएसंगै बन्दीपुरको पर्यटन क्षेत्रमा आमूल परिवर्तन हुन सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कूल लागत ६ अरब २९ करोडमध्ये विभिन्न संरचना निर्माणमा रु.४ अरब ५५ करोड लगानी भैसकेको छ ।