|  

BREAKING

आठ वर्ष बित्दा पनि बनेन कञ्चनपुर हुलाकी राजमार्ग

९ जेष्ठ २०८१, बुधबार १८:२६ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको काम एक वर्षदेखि अलपत्र छ । सुरुको सम्झौताअनुसार साढे दुई वर्षभित्र सक्नुपर्ने राजमार्ग निर्माणको काम आठ वर्षसम्म पूरा भएको छैन । ०७३ फागुन र चैतमा भएको सम्झौताअनुसार ३० महिनाभित्र काम पूरा गर्ने सर्त थियो ।

धनगढीसँग जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास हुँदै महेन्द्रनगर जोड्ने साढे ६२ किलोमिटरमध्ये ३९ किलोमिटर मात्र कालोपत्रे भएको छ । तीन खण्डमध्ये पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेलौरी नगरपालिकाको बुटाबारी जोड्ने २० किलोमिटर मात्र सडक कालोपत्रे भएको छ । बाँकी दुवै खण्डको काम आधा पनि सकिएको छैन । डोकेबजार खण्डमा पनि पर्खाल तथा तारजाली लगाउने सडक सुरक्षाका काम र राजमार्गबाट भित्री सडकको केही मिटर कालोपत्रे गर्ने काम अधुरै रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर बर्खबहादुर कठायतले बताए ।

बेलौरीदेखि बेलडाँडी जोड्ने दोस्रो खण्डको २० किलोमिटर र तेस्रो खण्डअन्तर्गत बेलडाँडी–दैजी साढे २२ किलोमिटरको साढे नौ–नौ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । पहिलो र तेस्रो खण्डमा शर्मा–राजेन्द्र जेभी तथा दोस्रो खण्डमा बाबाहंस–सिद्धि साई जेभीले ठेक्का लिएको छ । छैटौँपटक थप गरेको अवधि आगामी असारमा सकिन लाग्दा पनि निर्माण कम्पनीले काममा तदारुकता देखाएको छैन । ‘काम गर्नोस् भनेर ताकेता गर्दै आएका छौँ, कम्पनीका प्रतिनिधि कार्यालयमा आएर तत्काल काम अगाडि बढाउने प्रतिबद्धता पनि जनाउँछन्, तर गर्दैनन्,’ कठायतले भने, ‘नयाँ प्रक्रियामा जाँदा झन् बढी समय लाग्ने भएकाले ठेक्का तोड्न पनि गाह्रो भएको छ ।’

कैलालीमा बजेट अभावले हुलाकी राजमार्ग स्तरोन्नतिको काम प्रभावित भएको छ । यस वर्ष विनियोजित बजेट सकिएपछि आयोजना कार्यालयले सम्पन्न भएका कामको समेत भुक्तानी गर्न सकेको छैन । निर्माण कम्पनीहरूले भुक्तानीका लागि साढे २२ करोड रुपैयाँको बिल पेस गरेको सूचना अधिकारी कठायतले जानकारी दिए ।

यसअघि भएको कामको पनि भुक्तानी नपाएपछि निर्माण कम्पनीले कामलाई सुस्त बनाएको आयोजना कार्यालयले जनाएको छ । यस वर्ष आएको ३८ करोड बजेट फागुन मसान्तमै सकिएपछि आयोजना केन्द्रमा थप बजेट माग गरेको छ । एउटै कम्पनीको साढे तीन करोडसम्म भुक्तानी रोकिएको कठायतले बताए । राजमार्गअन्तर्गत धनगढीदेखि टीकापुरको सत्तीसम्म सडक स्तरोन्नतिको काम भइरहेको छ । त्यस्तै, लम्कीदेखि सत्ती जोड्ने हुलाकी राजमार्गकै लिंक रोड कालोपत्रेको काम जारी छ ।

यो समाचार हामीले नयाँ पत्रीका दैनिकबाट लिएका हौ ।

९ जेष्ठ २०८१, बुधबार १८:२६  मा प्रकाशित

Write your Comment

Top Brands