मकवानपुर । मकवानपुरमा रड बोकेको ट्याक्टरमा स्कुटर ठोक्किँदा गए राति एक व्यावसायीको मृत्यु भएको छ । बागमती गाउँपालिका-४ सादेपुलस्थित धरान-चतरा सडक खण्डमा भएको दुर्घटनामा हेटौंडा-१३ का ४५ वर्षीय केशवप्रसाद मुडभरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मुडभरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ९ बजे मृत्यु भएको मकवाननपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनी विद्यालय सञ्चालक र स्टेसनरी व्यावसायी समेत हुन् । उनले केही वर्ष पत्रकारिता समेत गरेका थिए । ना ६६ प ९३०३ नम्बरको स्कुटर रड बोकेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।
मुडभरीको अनुहार र टाउकोमा गहिरो चोट लागेको थियो । प्रहरीले राति नै घटनास्थलबाट ३ किलोमिटर उत्तरतर्फ भोर्लेनीबाट काभ्रेको तालढुंगा जाने भित्रि सडक खण्डमा रोकिराखेको ना ७ त २२५९ नम्बरको रड लोड भएको ट्याक्टर नियन्त्रणमा लिएको छ । चालक फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय फापरवारीले जनाएको छ ।