दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल हटाउने काम सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थितरूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले बताए । उनका अनुसार प्राधिकरणले आफ्नो स्वामित्वका विद्युतीय पोलमा टाँगिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थित गर्न यो काम थालेको हो । प्राधिकरणले चार सय भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेन्टिमिटरको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच दुई दशमलव चार मिटर दूरीको (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ ।
त्यसैगरी चार सय भोल्टको ‘इन्सुलेटेड’ तार र अन्य तारबीच ३० सेमीको दूरी र यस्तो पोलमा पैदलमार्गसँग तारको दूरी पाँच दशमलव पाँच मिटर कायम गर्नुपर्ने प्राधिकरणले जनाएको छ । उनले तार हटाउने कार्यसँगै सडक मापदण्डअनुसार दुई सय ९० वटा पोलसमेत हटाइने जानकारी दिए । अहिले ठूला पोल गाड्ने काम भएकाले सोही पोलमा अन्य कम्पनीका तारहरू सार्न लगाइएको उनले बताए । आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन र सहरी सुन्दरता कायम राख्ने उद्देश्यले यो काम थालिएको उनको भनाइ छ ।
इनटरनेट र केबल टिभीलगायतका तारहरू नयाँ पोलमा सार्न नगरपालिकामार्फत् व्यवसायीलाई अनुरोध गरिएको छ । उनले भने, ‘तोकिएको समयमा व्यवस्थापन नगर्ने-नगराउने सेवा प्रदायकहरूको केबललगायत उपकरण नेपाल विद्युत् प्राधिकरण ऐन ०४१ बमोजिम प्राधिकरण आफैले हटाउने र यसबाट हुनसक्ने नोक्सानीप्रति सम्बन्धित सेवा प्रदायक स्वयम् जिम्मेवारी हुनुपर्ने यसअघि पटक–पटक सूचना जारी गरिएकाले अहिले सोहीअनुसार काम भइरहेको छ ।’