लमजुङ । मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको ७.८ किलोमिटर खण्ड कालोपत्र भएको हो ।
डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो ।
५.५ मिटरमा सवारीसाधन सञ्चालन हुने, १.१ मिटर पानीको निकास र पैदलयात्री मार्ग १ मिटर चौडा छ । कुल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा रु २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता भएको थियो ।
बेँसीसहरबाट खुदीसम्म करिब साढे ७ किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका-६ स्थित ३०० मिटर लामो खरखरेभिरका लागि सो रकमबाहेक बोलपत्र आह्वान गरेर रु २० करोड लागत अनुमान गरेकामा रु १६ करोड र सोही स्थान नजिक १२० मिटरको करिब रु ४ करोडमा पुल तथा बाटो निर्माण भइरहेको छ ।
पैसठ्ठी किलोमिटर लामो यो सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर छ । खुदीसम्म कालोपत्र भए पनि त्यहाँबाट चामेसम्मको अधिकांश भाग जीर्ण छ ।