सुर्खेत / सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु भएको छ । बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार रु एक करोड लगानीमा मोटरबोट सेवा उपलब्ध गराएको हो ।
सरसफाइ अभावमा अव्यवस्थित बनेको तालमा आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ । “फोहोर र जलकुम्भीले ताल भरिएको थियो, तालको अस्तित्व नै मेटिने अवस्थामा पुगेको थियो”, बोटेबोरा कम्पनीका सञ्चालक बिबि ढकालले भने, “हामीले आफ्ने लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गरेका हौँ ।” कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरे वापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता भएको ढकालले जानकारी दिएका छन् ।
तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा सुरु गरेको छ । कम्पनीले यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट, सर्लाहीको भरतताल र पृथ्वी राजमार्गमा रहेको तल्लो मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालन गर्दै आएको छ । कम्पनीले छिट्टै लमजुङको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको सञ्चालक ढकालले जानकारी दिएका छन् ।