पोखरा – पोखराका ट्याक्सी चालकले अझै पनि मिटरमा चलाउन अटेरीपन देखाएका छन्। यात्रुसँग मिटरमा उठेअनुसार भाडा लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको झन्डै ९ महिना पुग्दासमेत चालक र ट्याक्सी व्यवसायीको अटेरी उस्तै छ।
गण्डकीका तत्कालिन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले भदौ १ गतेदेखि लागु हुने गरेर अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम ल्याएका थिए। मन्त्रालयको निर्णयको ट्याक्सी व्यवसायीले विरोध गर्दागर्दै पनि मिटरमा गुड्न अनिवार्य भएपछि यात्रुले राहतको महसुस गरेका थिए।
केही ट्याक्सीले सुरुआती चरणबाटै मिटरमा गुड्न अटेरी गरिरहेका थिए। पछिल्लो समय त अधिकांश ट्याक्सी चालकले मिटरमा गुडाउनै छाडेका छन्। सकेसम्म उनीहरु यात्रुसँग मनपरि भाडा असुल्छन्।
आइतबार एकैदिन मिटरमा नचल्ने १३ ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यात्रुको उजुरी र छड्के अनुगमनमा मिटरमा चल्न नमान्ने ट्याक्सीलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्मा बताए।
‘ट्याक्सीहरु मिटरमा गुड्दैन। यात्रुले मिटरमा जान चाहेर पनि चालकले लैजाँदैनौँ भन्ने खालको गुनासो आइसकेपछि अपरेशन गरेका थियौँ’, शर्माले भने, ‘पोखराका विभिन्न स्थानबाट १३ वटा ट्याक्सी नियन्त्रणमा लिएका छौँ। नियमअनुसार कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छ।’
प्रहरीले नियन्त्रणमा लिएका ट्याक्सीलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउनेछ। सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुनेछ।
मिटरमा अनिवार्य लागु भएसँगै नियमित अनुगमन र कारबाहीको प्रक्रिया चलिरहेको उनले जानकारी दिए। भदौ १ गतेदेखि हालसम्म ५०४ वटा मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही गरिएको प्रहरी निरीक्षक शर्माले बताए।
कारबाहीबाट १४ लाख २८ हजार २०० रुपैयाँ राजस्व संकलन भएको छ। कारबाही भइरहे पनि ट्याक्सी चालकको मनोमानी चलिरहेको उनको भनाइ थियो।
सुरुमा मिटरमा नचल्ने ट्याक्सीलाई दुई हजार एक सय रुपैयाँका दरले जरिवाना तिराउने व्यवस्था थियो। असोज दोस्रो साता जरिवानालाई दोब्बर बढाएर न्यूनतम पाँच हजार रुपैयाँ पुर्याइएको हो।
सुरुमा २०७८ फागुन १ देखि लागू हुने गरी गण्डकी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि ट्याक्सी मिटरमा चलेका थिएनन्। त्यतिबेला समायोजन भएको भाडादरअनुसार भदौदेखि अनिवार्य मिटरमा चल्नुपर्ने बाध्यकारी नियम लागू भएको थियो।
२ वर्षअघि समायोजन भएको भाडादर अनुसार १५ किलोमिटरको यात्रामा चढ्नासाथ ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँ तोकिएको छ। १५ किलोमिटरभन्दा बढीको दूरीमा प्रतिकिलोमिटरको ३७.५० रुपैयाँ कायम गरिएको छ। तर, तोकिएको भाडादरअनुसार मिटरमा ट्याक्सी नचल्दा यात्रुको मर्का अन्त्य हुन सकेको छैन।