झापा । कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ ।
‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त सडकको १५ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको सुरुंगा चोकदेखि डिगलबैंकसम्मको २४ किलोमिटर सडकमध्ये अब नौ किलोमिटर कालोपत्रे हुन बाँकी रहेको कार्यालयका इन्जिनियर कुलानन्द चौधरीले जानकारी दिए ।
उनका अनुसार सो सडकको दुई खण्डमा निर्माण भइरहेको छ । मैनाचुली–रोशन जेभीले ५७ करोड १८ लाख रुपैयाँमा सडक निर्माणको ठेक्का लिएको छ ।
जसमध्ये सुरुंगा चोकदेखि झापा गाउँपालिकाको सीमानासम्म पहिलो खण्डको आठ किलोमिटर सडक कालोपत्रे गत मंसिरमै सम्पन्न भएको थियो ।
अमरपथ सडक खण्डको दोस्रो चरणको निर्माण तीव्र गतिमा भइरहेको उनले जानकारी दिए । झापा गाउँपालिकादेखि दक्षिणतर्फ सात किलोमिटर सडकको कालोपत्रे भइसकेको बताए ।
इन्जिनियर चौधरीका अनुसार निर्माण कम्पनीले वि।सं। २०७६ मंसिर ३० गते चार वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
तर, कोभिड महामारी र सरकारले समयमा बजेट निकासी गर्न नसक्दा एक वर्षको म्याद थप गरी विसं २०८१ मंसिर ३० गते निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत सो सडकको निर्माण भइरहेको छ । सडक निर्माणमा बजेट अभाव भएको कार्यालयले जनाएको छ ।
‘सडक सम्पन्न गर्न अझै १५ करोड रकम चाहिन्छ,’ उनले भने, ‘तर, कार्यालयसँग अब १५ लाख रुपैयाँ जति मात्र बजेट बाँकी छ ।’
उहाँले मन्त्रालयले बजेटको सुनिश्चितता नगरी योजना कार्यान्वयन गर्दा तोकिएको मितिमा काम सक्न सकस हुने गरेको बताए । उनका अनुसार थप बजेट निकास भएमा तोकिएकै मितिमा सडकको निर्माण सम्पन्न हुनेछ ।