काठमाण्डौ । गत मंगलबार देखि भृकुटीमण्डपमा सुरू भएको ‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल’मा सवारी मेलामा अवलोकनकर्ताहरूको उत्साहजनक भिड देखिएको छ । सरल सेलरस क्रेडिट एडभाइजरी प्रालिको आयोजनामा सुरू गरेको उक्त मेला भोलि वैशाख ८ गतेसम्म चल्ने छ ।
यस ‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल’ मेलामा पुराना सवारी साधन, नयाँ सवारी साधन, ईलेक्ट्रीकल कार तथा ईलेक्ट्रीकल बाईक, स्कुटी, सवारी सधनाका पार्टपूर्जा, बैन्किङ, ईन्टरनेट, इन्स्योरेन्स, सेवा एवम् अन्य प्राईभेट संघ संस्थाहरूको प्रदर्शनी रहने मेलाका संयोजक चक्र खड्काले बताए । खड्का अनुसार कार्यक्रमलाई सफल रूपमा आयोजना गर्न विभिन्न अटोमोबाइल ब्राण्डहरू साथै रिकण्डीशन व्यवसायीहरू लगायतका संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेको जानकारी दिए ।
सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल मेला भनेर पुराना सवारी साधनलाई विशेष तोकेर नाम दिइएता पनि उक्त मेलामा विभिन्न कम्पनीले नयाँ सवारी साधन समेत राखेका थिए । मेलामा टोयोटा, किया, सुजुकी, हाईगर, केटिएम, एथर, सेगवय, आइवा, जस्ता चर्चित कम्पनीका नयाँ गाडी तथा बाईक पनि बुक गर्न अथवा सिधै खरिद गर्न पनि सकिन्थ्यो जसले गर्दा मेलामा अवलाेकनकर्ताकाे उपस्थिती उत्साहजनक भएकाे देखिन्थ्यो। चार दिनसम्म चल्ने उक्त मेलालाई ४० देखि ५० हजार जनाले सम्मले अवलोकन गर्ने विश्वास आयोजक टिमले राखेको छ ।