लामो यात्रा वा छोटो यात्रा गर्दा बान्ता हुने समस्या प्राय मानिसहरुलाई हुने गदर्छ । यो समस्याले धेरै मानिसहरुलाई पिरलिरहेको हुन्छ । अझ बढि त गाडि चड्दा औषधिको सेवन धेरैले गरेका हुन्छन् ।सवारीसाधनमा यात्रा गर्दा वाकवाकी लाग्ने, रिँगटा लाग्ने, असहज महसुस हुनेजस्ता समस्या देखा पर्छन् ।यसलाई सामान्य तया भन्दा गाडी लाग्नु भनिन्छ ।
विशेषगरी गाडीमा यात्रा गर्दा शरीरका इन्द्रियहरूले सन्तुलित ढंगले काम गर्न सक्तैनन् । आँखाको दृष्टि झ्याल छेउछाउका वस्तुभन्दा टाढा केन्द्रित गर्नुपर्छ । गाडी चढ्नुअघि मानसिक रूपले तयार हुन आवश्यक हुन्छ । तसर्थ, बान्ता हुनेले सकभर अगाडिको सिट रोज्नु उपयुक्त हुन्छ ।गाडीमा प्रयोग गरिने पेट्रोलियम पदार्थको गन्धले समेत बान्ता आउँछ । यात्रा गर्नुभन्दा करिब आधा घन्टाअघि बान्ता नआउने औषधि सेवन गर्न सकिन्छ ।
यो औषधि प्रयोग गर्दा नि धेरैलाई बान्ता आउने समस्या रहेको हुन्छ् । यात्रा गर्नुअघि पेटभरि टन्न खानु हुँदैन र पुरै खाली पेट पनि यात्रा गर्नु हुँदैन । चिल्लो, पिरो, मसला धेरै भएको खानेकुरा पनि खानुहुँदैन । त्यस्तै, मैदाजन्य खानेकुरा पनि सकेसम्म खानु हुँदैन । यस्तो खाना पच्न समय लाग्ने भएकाले समस्या देखिन सक्छ । लामो यात्रा गर्दा ल्वाङ, सुकमेल वा अदुवाको सानो टुक्रा मुखमा राखेर यात्रा गर्दा पनि आराम हुन्छ । गाडीमा यात्रा गर्दा मैदाजन्य खानेकुरा खानु हुँदैन ।
यस्ता घरेलु तरिकाले पनि रोक्न सकिन्छ बान्ता :
१. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ। अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ।
२. ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन।
३. जामुन : जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन। साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ।
४. आँप : काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ। त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ। यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ।
५. सौंफ : सौंफले पनि वान्ता रोक्ने काम गर्दछ। यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन।
६. अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ। अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ। यसैगरी फलफुलका रुपमा प्रयोग हुने दाडिम (अमिलो अनार), बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ।
अथवा माथि भनिएका मध्ये मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ।
डा जया सत्यालको सहयोगमा