विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर सहयोग गरेको छ । शुक्रबार नेपाल सरकार र विश्व बैँकबीच कोभिड–१९पश्चात नेपालका आर्थिक गतिविधिलाई बढावा दिन ४५ करोड अमेरिकी डलर बराबरको सडक निर्माण सहयोगसम्बन्धी हस्ताक्षर भएको हो ।
विश्व बैंकको उक्त सहयोगले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधारलगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्नेछ र रणनीतिक सडक संजाल व्यवस्थापन क्षमताको सुदृढीकरण गर्ने बताइएको छ । उक्त आयोजना नेपाल सरकार र विश्व बैँकबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा, नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सहयोग रकमसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सहयोगका लागि विश्व बैंक समूहलाई धन्यवाद दिँदै अर्थमन्त्री डा. खतिवडाले उक्त आयोजनाले सीमापार बजारलगायत सडक संजालको विस्तार र राष्ट्रिय एकीकरणलाई बढावा दिने बताए । कोभिड–१९ पश्चातको आर्थिक पुनरुत्थानलाई सघाउन सहयोगले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
नेपालको द्रुत र दिगो विकासको एजेण्डामा सडक संजाल सम्पर्कको उच्च महत्व रहेको प्रसंग उठाउँदै अर्थमन्त्रीले नेपालमा आर्थिक बृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न दिगो यातायात तथा दिगो, समावेशी र गुणस्तरीय पूर्वाधारको महत्व रहेकोमा जोड दिए ।
आयोजनाले मुख्य यातायात मार्ग र सीमापार बिन्दुहरूमार्फत सामानहरू ढुवानी गर्ने समय र लागत घटाउने बताउँदै अर्थ मन्त्रालयका सचिव ढुंगानाले सहयोगले विशेषगरी कोभिड– १९ पश्चातको अवस्थामा आर्थिक वृद्धिलाई द्रुत तथा दिगो बनाउने बताए ।