मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सवारीसाधन सञ्चालनसम्बन्धी निर्णयबारे जानकारी गराएका हुन्।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई ध्यानमा राख्दै गत जेठ २८ र असार १५ गते गरिएको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा सरकारले परिमार्जन गरेको हो।
“काठमाण्डू उपत्यकाका तीन जिल्ला र उपत्याका बाहिरका सम्बन्धित जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय भएको हो,” मन्त्री खतिवडाले भने।
उनका अनुसार काठमाण्डू उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारीसाधन चालकबाहेक दुईजना र एकै परिवारको भए बढीमा पाँच वर्षसम्मको बच्चा जोडिएर दुई जनाबाहेक काखमा बस्ने गरी यात्रा गर्न पाउने छन्।
जसअनुसार काठमाण्डू उपत्यकाको हकमा उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने ट्याक्सी चालकबाहेक बढीमा दुईजना र परिवारभित्रको भए पाँच वर्षभित्रका बालबालिका समेतले यात्रा गर्न पाउने छन्।
काठमाण्डू उपत्यकाको हकमा उपत्यकाभित्र सबै जिल्लामा र अन्य जिल्लाको हकमा यात्रुवाहक सार्वजनिक यातायात चालकसहित सीट क्षमताको बढीमा ५० प्रतिशतसम्म यात्रु रहने गरी एक पङ्क्तिको एक सीटमा सामाजिक दूरी कायम हुने गरी एकजना यात्रु राख्नुपर्ने मन्त्री खतिवडाले बताए।
सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, यात्रु चढ्ने सयममा सवारीसाधनको ढोकामा र भित्र स्यानीटाइजरको व्यवस्था गर्नुपर्नेछ।
चालक तथा सहचालकले समेत अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउने तथा सवारीसाधनलाई दैनिक निःसङ्क्रमण गर्ने गरी सञ्चालन गर्नुपर्ने सरकारी निर्णय छ।
“५० प्रतिशतभन्दा बढी क्षमतामा नचलाउने भएपछि सञ्चालन खर्चलाई ध्यानमा राखेर कोभिड-१९ सम्बन्धी आदेश रहेसम्म थप भाडा लिन पाउने गरी निर्णय गरिएको छ,”मन्त्री खतिवडाले थपे।
त्यसैगरी उद्योग, प्रतिष्ठान तथा निजी सेवा प्रदायकहरूले आफ्ना कर्मचारी ओसारपसार गर्दा पनि सामाजिक दूरी र सीट क्षमताको आधा मात्रा मान्छे राख्न पाउने छन्।