साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेटको लागि आवेदन फाराम खुलाएको छ।
२०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेपनि नम्बर प्लेट देवनागरीको सट्टा अंग्रेजीमा लेखिएको भन्दै सर्वोच्चमा रिट परेको थियो।
उक्त रिटमाथि प्रथम सुनुवाई गर्दै तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि इम्बोस्ड नम्बर प्लेट लागू नगर्न अन्तरिम आदेश दिएकाे थियाे।
गत मंसिर २७ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको उक्त रिट खारेज गर्ने निर्णय गरेको थियो।
यसरी जडान गर्न सकिन्छ इम्बोस्ड नम्बर प्लेट :
यातायात व्यवस्था विभागको अनुसार इम्बोस्ड नम्बरप्लेट आवेदन दिनुपूर्व सवारीको सम्पूर्ण राजस्व चुक्ता भएको हुनु पर्नेछ। राजश्व चुक्ता छ भने विभागको वेव साइट https://dotm.gov.np/ मा गई प्रथम पृष्ठमा रहेको ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ बटन थिची सवारीको सम्पूर्ण विवरण भरी अनलाइन आवेदन फाराम बुझाई आफूले बुझाएको फाराम प्रिन्ट गर्नु पर्नेछ।
त्यसपछि साउन १ गतेदेखि दुई पाङ्ग्रे सवारीको लागि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारामा रहेको ग्लोबल आई एमई बैंकको शाखा अन्य सवारीको हकमा यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी) एकान्तकुना, ललितपुरमा इम्बोस्ड नम्बर प्लेट शुल्क वापतको राजस्व जम्मा गर्नु पर्नेछ।
सवारीको कर चुक्ता सम्बन्धी अध्यावधिक कागजात, नम्बर प्लेट वापतको शुल्क जम्मा गरेको बैंक भौचरको सक्कल प्रति र अनलाइन आवेदन प्रणालीमा उल्लेख गरिएका आवश्यक कागजात सहित अनलाइन आवेदनको प्रिन्ट यातायात कार्यालयमा प्रमाणीकरणका लागि बुझाउनु पर्नेछ।
इम्बोस्ड नम्बर प्लेटका लागि दिइएको आवेदन सम्बन्धित कार्यालय मार्फत प्रमाणीकरण भए पश्चात मात्र इम्बोस्ड प्लेट छाप्ने प्रकृया शुरु हुनेछ र प्लेट तयार भएको जानकारी सम्बन्धित आवेदकलाई एसएमएस मार्फत गराइने विभागले जनाएको छ।
इम्बोस्ड प्लेट जडान गर्न आफूलाई उपयुक्त हुने मिति आवेदकले एसएमएस मार्फत नै रोज्न सक्नेछन्।
प्रणालीबाट निर्धारित भई एसएमएसमार्फत आवेदकलाई जानकारी गराइएअनुसारको मितिमा निजी सवारीको हकमा सवारी धनि स्वयं उपस्थित भई आफ्नो बायोम्याट्रिक विवरण उपलब्ध गराई तथा सरकारी वा संस्थानको स्वामित्वमा रहेका सवारीको हकमा आधिकारिक प्रतिनिधि उपस्थित भई देहायका स्थानबाट सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिनेछ।
कस्तो हुन्छ त नम्बर प्लेट?
यो नम्बर प्लेटले नेपालमा हाल प्रयोग भइरहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारमा सीमित गर्नेछ।
अबदेखि राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, झण्डामूनी माथिबाट हल्का निलो रङहुँदै तल गाढा निलो रङ, एनइपी अक्षर, एनइपी अक्षर मुनी लालिगुराँससहितको नेपालको निसान छाप हुनेछ।
त्यस्तै सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा रातो अक्षर, कुटनीतिकमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था रहेको छ। त्यस्तै सबै प्रकारका सवारी साधनहरुको नम्बर प्लेट अगाडि लामो र पछाडि चर्तुभुज आकारको हुनेछ।
कस्तो छ यो प्लेट?
९९ प्रतिशत आल्मोनियमबाट बनेको यो नम्बर प्लेटमा रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरिएको र उक्त प्लेट अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ।
यसको कडा पन एच ४१ र एच ४२ हनेछ भने मोटाई ०.९८ मिलिमिटर हुनेछ। बेस प्लेटमा स्ट्याम्पिङद्वारा उठेको अंक र अक्षर पोजेटिभ इम्बोस्ड रहेको हुनेछ।
प्लेटको बाँया साइडको माथि नेपालको झण्डा र त्यसैको मुनी देश जनाउने गरी अंग्रेजीमा एनइपी र त्यसको मुनी सुरक्षात्मक होलोग्राम राखिएको हुनेछ।
प्लेटको माथि प्रदेश जनाउने अंग्रेजीमा लेखिएको हुनेछ। त्यसको मुनी लट जनाउने गरी अंग्रेजी अल्फाबेट राखिएको र सो को मुनी बढीमा ४ अंक लेखिएको हुनेछ।
दुईपांग्रे बाहेकका सबै साधनहरुमा अगाडि वाइड स्क्रिन ग्लासको भित्रपट्टीबाट आरएफआइडी एण्टीना स्टिकर राखिएको छ।
मोटरसाइकलको हकमा पछाडीपट्टीको नम्बर प्लेटमा विषेश प्रकारको कभरको डिजाइन गरी चिप्स राखिएको हुन्छ र सो मा आरएफआइडी स्टिकरको सम्पूर्ण विवरण राखिएको हुन्छ।
कति लाग्ला जडान शुल्क?
यातायात व्यवस्था विभागले मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २ हजार ९ सय, चारपांग्रे तथा मझौला सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३ हजार ६ सय रुपैँया शुल्क निर्धारण गरेको छ।
कहाँ गएर जोड्ने?
विभागले २ पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, ३ पाङ्ग्रे सवारी र साना तथा मझौला ४ पाङ्ग्रे सवारीका लागि सवारी परीक्षण कार्यालय, टेकू र ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी एकान्तकुना, ललितपुरमा व्यवस्था मिलाएको छ। त्यस्तै सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवन जानुपर्ने छ।
सेतोपाटीको सहयोगमा