सरकारले व्यवसाय गर्नेलाई करले बाँधेको मात्र छैन, केही यस्ता व्यवसाय छन् जसका लागि कर छुटको व्यवस्था पनि छ ।
जागिर खाए वा उद्योग व्यवसाय गरे १० प्रतिशत, २० प्रतिशत, ३० प्रतिशत र त्योभन्दा बढी आयकर लाग्ने व्यवस्था छ ।
आयकर ऐन २०५८ मा गरिएको संशोधनले केही व्यवसायको आयकरमा छुटको व्यवस्था गरेको छ ।
आर्थिक विधेयक २०७६÷०७७ मा उल्लेख भएअनुसार आयकर ऐन २०५८ को दफा ११ को उपदफा २ (ख) मा कुनै आय वर्षमा वर्षभरि पूर्ण रूपले सञ्चालनमा रहेको उद्योगबाट भएको आयमा आयकर छुटको व्यवस्था गरेको छ ।
प्राकृतिक व्यक्तिको आयमा ३० प्रतिशतका दरले कर लागेको रहेछ भने सो करमा एक तिहाइले छुट हुने व्यवस्था छ भने कुनै निकायको आयमा लाग्ने करमा २० प्रतिशतले छुट हुनेछ ।
यी दुवै सुविधा पाएका व्यक्तिको हकमा अर्को कर छुट सुविधा पाउने रहेछ भने पनि सो करमा छुट पाउने व्यवस्था छ ।
आयकर ऐन २०५८ को दफा ११ को उपदफा ३ (ङ) मा नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको आम्दानीमा प्राकृतिक व्यक्तिको आयमा २० प्रतिशतले कर लाग्ने रहेछ भने सो करमा २५ प्रतिशत र ३० प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा ५० प्रतिशत छुट हुने व्यवस्था रहेको नयाँ आर्थिक विधेयकमा उल्लेख छ ।
निकायको आयमा लाग्ने करमा २० प्रतिशतको छुटको व्यवस्था छ । यस्तै उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आएमा माथिको दुई अवस्थामा कुनै एक बमोजिम छुट भईकन थप २५ प्रतिशत छुट हुने व्यवस्था छ ।
यस्तै दफा ११ को उपदफा ३(च) कुनै निकायले यस्तो कार्य गरे आयकर छुटको व्यवस्था छ । जस्तैस ट्राम वा ट्रलीबस सञ्चालन गरे २० प्रतिशत आयकर छुट हुनेछ । रोपवे, केवलकार, रेल्वे, टनेल वा आकाशेपुल निर्माण गरी सञ्चालन गरेमा २० प्रतिशत कर छुट हुनेछ ।
विमानस्थल निर्माण वा सञ्चालन गरेमा ४० प्रतिशत करको छुट छ । सडक, पुल वा सुरुङमार्ग निर्माण गरी सञ्चालन गरेमा ५२ प्रतिशतको छुटको व्यवस्था छ । यस्तै ट्राम वा ट्रलीबसमा लगानी गरी सञ्चालन गरेमा ५२ प्रतिशत कर छुटको व्यवस्था छ ।
यस्तै आयकर ऐनको दफा ११ को ३ त पछि ३ थ भन्ने बुँदा थप गरिएको छ ।
यस बुँदाले पनि आयकर छुटको व्यवस्था गरेको छ । जसमा कुनै आय वर्षमा कुनै निकायले सार्वजनिक पूवार्धार निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजना र विद्युतगृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई सो निकायको करयोग्य आयमा लाग्ने करमा २० प्रतिशतको छुटको व्यवस्था छ ।
व्यवसायबाट भएको आयको गणना यसरी गर्ने
आयकर ऐनको पच्छिेद ३ मा आयकर गणना विधि सिकाएको छ । आयकर गणना गर्दा कुनै व्यक्तिले कुनै आय वर्षमा भएको मुनाफा र लाभको गणना गर्दा वर्षभरि प्राप्त गरेको सेवा शुल्क समावेश गर्नु पर्नेछ ।
यस्तै व्यापारिक मौज्दातको निसर्गबाट प्राप्त रकम, परिच्छेद ८ बमोजिम गणना गरिएको व्यक्तिको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त खुद लाभ, व्यवसायको ह्रासयोग्य सम्पत्तिको निसर्गबाट अनुसूची २ को दफा ४ को उपदफ २ को खण्ड क बमोजिम प्राप्त रकम, व्यवसाय सम्बन्धमा कुनै व्यक्तिबाट प्राप्त गरेको उपहारलाई पनि आयकर गणनामा समावेश गर्नुपर्नेछ ।
रोजगारदाताबाट कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएको भुक्तानीहरू यस्तो प्राकृतिक व्यक्तिको सो आय वर्षको रोजगारीबाट प्राप्त पारिश्रमिकको गणना गर्दा ज्याला, तलब, बिदा बापतको रकम, अतिरिक्त समय काम गरेबापतको रकम, शुल्क, कमिसन, पुरस्कार, उपहार, बोनस वा अन्य सुविधाहरू बापतको भुक्तानी समावेश गर्नुपर्नेछ ।
यस्तै महँगी भत्ता, जीवन निर्वाह भत्ता, भाडा, मनोरञ्जन वा यातायात भत्ताबापतको रकम लगायतका कुनै पनि व्यक्तिगत भुक्तानी पनि समावेश गर्नुपर्नेछ ।
व्यक्तिगत प्रयोजनका लागि गरिएको खर्चको फस्र्यौट वा शोधभर्ना बापत प्राप्त गरिएको भुक्तानी, रोजगारीको कुनै शर्तमा सहमति जनाएबापत गरिएको भुक्तानी, रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाशबापत प्राप्त गरिएको भुक्तानी, अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीका लागि कोषमा जम्मा गरेको रकमसमेतको अवकास योगदान, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानीहरू समावेश गर्नुपर्नेछ ।