|  

BREAKING

यी हुन् नेपालमा उपलब्ध इलेक्ट्रीक कार, यस्तो छ मूल्य र उत्पादन क्षमता

३० बैशाख २०७६, सोमबार ०९:२६ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन आयातलाई कडाई गर्न व्यापार घाटा न्यूनिकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५ जेठ १३ गतेको मन्त्रिपरिषद्बाट पारित गरेसँगै इलेक्ट्रीक सवारीसाधन पुनः चर्चामा आएको छ ।

अहिले नेपाली बजारमा इलेक्ट्रीक सवारीसाधन मात्रै बिक्री गर्ने एउटामात्र कम्पनी रहेको छ । जुन चिनियाँ इलेक्ट्रीक गाडी उत्पादक कम्पनी बीवाईडी हो ।

यद्यपी नेपाली बजारमा महिन्द्रा, किया र हुन्डाईले इलेक्ट्रीकमा आफ्नो केही मोडल नेपाली बजारमा बिक्री गर्दै आएका छन् । यी कम्पनीसँग इलेक्ट्रीक कारको हिस्सा अत्यन्त न्यून रहेको छ ।

हुन्डाईले कोना र आयोनिक इलेक्ट्रीक कार बिक्री गर्दै आएको छ भने, कियाले सोल इभी बिक्री गर्दै आएको छ । कियाकै निरो इभी केही समयपछि नेपाल आउने क्रममा रहेको छ ।

महिन्द्रा नेपालमा सबैभन्दा पहिला इलेक्ट्रीक गाडी बिक्री गर्ने कम्पनी हो । जसले अहिले इटूओ र इभेरिटो बिक्री गर्दै आएको छ ।

दाय ब्रान्डका इलेक्ट्रीक गाडी नेपाली बजारमा भित्रिएपनि त्यसको गुणस्तरको कारण मानिसको रोजाईमा पर्न सकेको छैन ।

मूल्य

इलेक्ट्रीक सवारीसाधनमा सरकारले निक्कै कम भन्सार, अन्तःशुल्क र भ्याटलगाउँदै आएको छ । जस अनुसार गाडीको मूल्यको १ प्रतिशत भन्सार लाग्छ भने १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको छ ।

यति कम भन्सार दरमा इलेक्ट्रीक कार आउँदा सबैभन्दा सस्तो कारको रुपमा दाय ब्रान्डका इलेक्ट्रीक कार नेपाली बजारमा उपलब्ध रहेको छ । जसको मूल्य १३ लाख रुपैयाँबाट सुरु हुन्छ । यद्यपी यो गाडीको कमजोर इन्टेरियरका कारण बिक्री भने हुन सकेको छैन ।

महिन्द्राको इटूओ २१ लाख रुपैयाँ हाराहारीमा मूल्य पर्छ भने इभेरिटोको मूल्य २७ लाख रुपैयाँ रहेको छ ।

यी बाहेक कम मूल्यमा कुनैपनि इलेक्ट्रीक सावरीसाधन नेपाली बजारमा उपलब्ध रहेका छैनन् । कोना, आयोनिक, सोल इभी, बीवाईडीको ई ६ को मूल्य ५० लाख रुपैयाँ भन्दा बढी रहेको छ ।

कति छ इलेक्ट्रीक कारको उत्पादन ?

संसारभर इलेक्ट्रीक कारको उत्पादन अत्यन्त न्यून रहेको छ । सन् २०१७ मा संसारभर १२ लाख इलेक्ट्रीक कार उत्पादन भएको थियो भने २०१८ मा १६ लाख इलेक्ट्रीक कार उत्पादन भएको तथ्यांक छ ।

सन् २०१९ मा २० लाख इलेक्ट्रीक कार उत्पादन हुने अनुमान गरिएको छ । चीन सरकारले आन्तरिक खपतमा दिदै आएको अनुदान घटाएपछि भने इलेक्ट्रीक कारको उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।

कस्तो चार्जिङ पूर्वाधार ?

सरकारले इलेक्ट्रीक गाडी प्रयोगलाई सहुलियत दिने बताई रहँदा त्यसको तयारीको लागि कति काम भए भन्ने विषय महत्वपूर्ण हुन्छ । अहिले इलेक्ट्रीक सवारीसाधन चार्ज गर्न कुनैपनि किसिमको पूर्वाधार तयार भएको छैन । यस्तोमा एकै पटक इलेक्ट्रीक सवारी धेरै आयात भएको खन्डमा विद्युत् उपलब्धता कस्तो हुन्छ भन्ने विषयमा सरकारले न त अध्ययन गरेको छ, नजानकार नै छ ।

केही विद्युत् विज्ञका अनुसार अहिलेको अवस्थामा उपत्यकामा मात्रै एक हजार सवारीसाधन हुने हो भने हाम्रा पूर्वाधारले ती सवारीसाधन चार्ज गर्न नसक्ने दाबी गर्दै आएका छन् । यस्तोमा सरकारले पूर्वतयारी गर्न आवस्यक देखिन्छ ।

३० बैशाख २०७६, सोमबार ०९:२६  मा प्रकाशित

Write your Comment

Top Brands