|  

BREAKING

सवारी पार्टपूर्जा आयातमा कडाई, समस्यामा ३५ लाख सवारी

१७ बैशाख २०७६, मंगलवार ०८:२९ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सरकारले सवारीसाधनमा लाग्ने पार्टपूर्जाको आयात कडाई गर्ने भएको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा लाग्ने पार्टपूर्जाको आयातमा कडाई गर्ने कार्ययोजना ल्याइएको हो ।

सरकारको उक्त कडाईले आउने नयाँ सवारीमा त समस्या नहोला तर हाल सञ्चालनमा रहेका सवारी उच्च जोखिममा पर्ने देखिएको छ । हाल देशभर ३५ लाख भन्दाबढी सवारीसाधन सञ्चालनमा रहेका छन् ।

सरकारले नै सार्वजनिक सवारीको आयु २० वर्ष तोकेको छ भने निजी सवारी चलुन्जेल चलाउने पाइने कानुनी व्यवस्था रहेको छ । यस्तो अवस्थामा गाडी सञ्चालनका क्रममा विभिन्न पार्टपूर्जाहरु बिग्रने र समय समयमा मर्मत गरिरहनु पर्ने हुन्छ ।

सरकारी नीतिका कारण पार्टपूर्जाको लागत महंगो हुने र कमसल पार्टपूर्जाको विगविग हुने सम्भावना धेरै हुन्छ । उक्त नीतिले सवारी साधनको पार्टपूर्जा महंगो त हुन्छ नै कमसल पार्टपूर्जा आउँदा दुर्घटनाको सम्भावना समेत बढाउँछ ।

सरकारले ल्याएको व्यापार घाटा न्यूनिकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५ को बुँदा नम्बर १५.१० मा ‘विद्युतीय सवारी साधनको आयात बाहेकका अन्य सवारी साधन र त्यसको आयातमा र त्यसको पार्टपूर्जाको आयातमा टीआर (एक प्रकारको बैंक ग्यारेन्टी) कर्जा सुविधा नदिने’ उल्लेख गरिएको छ ।

उक्त कार्ययोजना ६ महिना भित्र कार्यान्वयनमा ल्याइसक्ने सरकारको योजना छ । यसबाट पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन र त्यसको पार्टपूर्जाको आयात निरुत्साहित हुने विश्वास सरकारले लिएको छ ।

हाल सबै व्यवसायीले टीआर सुविधा लिएका छन् र त्यसैका आधारमा पार्टपूर्जा आयात हुँदै आएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुनिल रिजालले बताए ।

‘पार्टपूर्जाको आयातमा टीआर सुविधा नदिने हो भने आयातमा समस्या हुने र बजारमा पार्टपूर्जाको अभाव हुने देखिन्छ,’ रिजालले भने, ‘यसले चोरीपैठारी बढ्ने, सरकारको भन्सार संकलन प्रभावित हुने र सवारी मर्मतमा समस्या देखिने निश्चित छ ।’

अहिले व्यवसायीहरुले टीआर कर्जाकै आधारमा सामान आयात गरि रहेको उनले बताए । ‘कि नगद लगानी गरेर एलसी खोल्नु पर्यो । कि धितो राखेर बैंकले ग्यारेन्टी बनाई दिन्छ त्यसैको आधारमा एलसी खुल्छ र सामान आउँछ,’ उनले भने, ‘त्यसो नहुँदा बजारको आवश्यकता होइन व्यवसायीसँग भएको नगदको आधारमा सामान आउने भयो ।’

१७ बैशाख २०७६, मंगलवार ०८:२९  मा प्रकाशित

Write your Comment

Top Brands